हरियाली र मनमोहक चियाबारी, साना ठूला नदीनाला र झरना, तालतलैया र पोखरी, पर्वतीय श्रृखला तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका महत्वपूर्ण पक्ष र विषय हुन् । उर्वर भूमि एवं पौरखी कृषकको उपस्थितिले गर्दा आर्थिक रुपमा सम्मृद्घ मनिन्छ इलामलाई । साँस्कृतिक, प्राकृतिक, आर्थिक रुपले समृद्ध रहेको यस जिल्लालाई “पहाडकी रानी नगदे बालीकी खानी”, “नकुँदिएको हिरा”, तथा “रेड पाण्डाको बासस्थान” आदि उपनामले चिनिन्छ ।
इलामलाई आठ अ (अदुवा, आलु, ओलन, अकवरे खुर्सानी, अम्लिसो, अलैची, आर्थोडक्स चिया र अतिथि सत्कार) को जिल्ला भनेर पनि चिनिन थालेको छ ।
भौगोलिक हिसावले समथरिलो र अत्यन्त मनमोहक पर्यककीय आकर्षण सूर्य उदाउने र अस्ताउने मनमोहक दृष्य देखिने श्रीअन्तु, सिद्धिथुम्का, सन्दकपुर र धार्मिक रुपमा प्रख्यात माबु, फिक्कल, संखाबुङ्ग र बौद्धाधामका गुम्बा तथा माङ्मालुङ्, गजुरमुखी, सिंहबाहिनी, माइस्थान जस्ता पबित्र आस्थाका केन्द्र तथा स्थलले भरीभराउ ठाउँ हो इलाम ।
यसरी विविधतायुक्त यस जिल्लाको सदरमुकाममा अवस्थित एक मात्र सरकारी अस्पताल बि.स.१९८७ सालमा ३ कोठे कच्ची भवनमा डिस्पेन्सरीको रूपमा स्थापना भएको थियो । बि.सं. १९९४ सालमा डिस्पेन्सरीलाई अहिलेको स्थानमा सारियो र अस्पतालको मान्यता दिइएको थियो । डिस्पेन्सरी भएकै बेला र त्यस पछि बि.सं. १९९८/९९, २००४–०७ सालमा नै यहाँ डाक्टरबाट सेवा दिन शुरु गरिएको थियो । त्यस बेला बंगाली डाक्टर रहेको कुरा बुढापाकाहरु बताउँछन् ।
बि.सं. २०२९/३० सालमा मात्र यस अस्पतालले नेपाल सरकारको मातहतमा रहने गरी १५ शैयाको अस्पतालको रूपमा संचालन गर्ने स्वीकृति पाएको हो ।
२०४४ सालदेखि सेवालाई सुदृढ र व्यवस्थित गर्न अस्पताल विकास तथा सहयोग समिति गठन गरिएकोमा बि.सं. २०६१ आषाढ ७ गते इलाम अस्पतालको संचालनको लागि अस्पताल विकास समिति गठन गर्ने निर्णय श्री ५ को सरकारले गरेको थियो । तत् पश्चात बिरामीको चापलाई ध्यान राखी २०६१।०५।२८ को नेपाल सरकार (सचिव स्तरको) निर्णय अनुसार १५ शैयाबाट २५ शैयाको अस्पतालको रूपमा स्तरोन्नति गरिएको थियो । बिरामीको चापलाई ध्यनमा राख्दै जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न बिं सं. २०७२।०४।०१ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बिशेषज्ञ चिकित्सकहरुको दरबन्दी सहित ५० शैयामा स्तरोन्नति गरिएको छ ।
स्वास्थ्य सेवालाई मानव अधिकारको अति महत्वपूर्ण अंगको रूपमा विकास गर्दै लैजान, हालको नेपालको संविधानले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको मौलिक हकको रुपमा अंगिकार गरेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा रहेको ब्यवस्था अनुरुप स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिले स्तरीय सेवा प्रदान गर्ने उद्देश्य नेपाल सरकारले लिएको छ ।